घट्यो रियल इस्टेट कर्जा

Avatar
कर्णाली विजनेश काठमाडौं - २८ मंसिर २०७७, आईतवार

गत असारको तुलनामा असोजमा रियल इस्टेट (घरजग्गाको व्यावसायिक कारोबार) क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह घटेको छ ।

सरकारले जग्गाको कित्ताकाटमा बन्देज लगाएको, कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनले घरजग्गाको कारोबारमा सुस्तता आएकोलगायत कारण यो क्षेत्रमा प्रवाह हुने कर्जा पनि घटेको बैंकरहरू बताउँछन् ।

गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले रियल इस्टेट क्षेत्रमा १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा असोजमा यस्तो कर्जा करिब २ प्रतिशत घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.८ प्रतिशत बढेको थियो । गत असारमा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।

गत आर्थिक वर्षको असोजको तुलनामा भने चालु आवको सोही अवधिमा यो क्षेत्रमा कर्जा प्रवाह बढेको देखिन्छ । २०७६ असोजमा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह १ खर्ब ५६ अर्ब रुपैयाँ रहेकोमा गत असोजमा १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यो करिब २ प्रतिशतको वृद्धि हो ।

लकडाउनका कारण लामो समय मालपोत कार्यालय बन्द भएको, कार्यालय खुलेका स्थानमा पनि आलोपालोका कारण सहज रूपमा कारोबार हुन नपाएको, कित्ताकाट रोकिएकोलगायत कारण रियल इस्टेट कारोबार प्रभावित भएको व्यवसायी बताउँछन् । ‘संस्थागत रियल इस्टेटका लागि नयाँ काम आएको छैन,’ नेपाल जग्गा तथा आवास विकास संघ अध्यक्ष मीनमान श्रेष्ठले भने, ‘पछिल्लो पटक अदालतले कित्ताकाट रोकेपछि कारोबार ठप्पजस्तै छ ।’

केही परियोजना निर्माणको चरणमा रहे पनि श्रमिक, कच्चा पदार्थलगायत सामग्री समयमा व्यवस्थापन हुन नसक्दा निर्माण प्रभावित भएको उनले बताए । रियल इस्टेट कारोबारमा ९९ प्रतिशतभन्दा बढी अनौपचारिक रूपमा हुँदै आएको जनाउँदै उनले थपे, ‘अनौपचारिक कारोबार पनि प्रभावित भएको छ, हामी जस्ता संस्थागत व्यवयासीलाई पनि समस्या छ अहिले ।’

विद्यमान नीतिगत व्यवस्थाले संस्थागत रियल इस्टेट व्यवसायीका लागि निरुत्साहित गरिरहेको उनले बताए । ‘यसअघि एकै स्थानबाट अनुमति लिए हुन्थ्यो,’ उनले भने, ‘अहिले तीन ठाउँबाट लिनुपर्छ । यसको प्रक्रिया पनि लामो र झन्झटिलो छ भने शुल्क पनि मह्गोँ छ ।’ नेपाल जग्गा तथा आवास विकास संघमा दुई सय सदस्य भए पनि हाल करिब २० वटा कम्पनीले मात्र सक्रिय रूपमा काम गरिरहेका छन् ।

चालु आर्थिक वर्षको तीन महिनामा रियल इस्टेट कर्जा घटे पनि व्यक्तिगत आवासीय प्रयोजनका लागि प्रवाह भएको कर्जा भने बढेको छ । आवासीय प्रयोजनका लागि घर निर्माणरखरिद गर्न तथा आवास निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्छन् । सो प्रयोजनका लागि प्रवाह हुने १ करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई बैंक तथा वित्तीय संस्थाले रियल इस्टेटमा गणना गर्नु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो शीर्षक अन्र्तगत गत असोजसम्म २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असारमा यस्तो कर्जा २ खर्ब ५२ अर्ब रुपैयाँ थियो । घरजग्गाको कारोबार घटे पनि सो क्षेत्रमा प्रवाह हुने कर्जा अपेक्षित रूपमा नघटेपछि यस्तो कर्जामा कडाइ गर्ने संकेत राष्ट्र बैंकले देखाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो संकेत देखाएको हो । ‘व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितो कर्जा तथा रियल इस्टेट कर्जासम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ,’ समीक्षामा भनिएको छ ।

सेयर बजार बढिरहेकाले व्यक्तिगत ओभरड्राफ्ट र रियल इस्टेट शीर्षकमा प्रवाह भएको कर्जा पनि सेयर बजारमा गएको आशंकामा यी कर्जामा राष्ट्र बैंकले कडाइ गर्न लागिएको हो । उल्लिखित शीर्षकमा प्रवाह भएको कर्जा उपयोगको क्षेत्र पहिचान गर्न अप्ठ्यारो हुने भएकाले जोखिमयुक्त मानिन्छ । यही कारण राष्ट्र बैंकले ती कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले कोभिड–१९ संक्रमणबाट अधिक प्रभावित भएको देखिएका होटललगायतका पर्यटन व्यवसाय र पशुपन्छीपालन व्यवसायलाई प्रदान गरिने पुनर्कर्जामा थप सहजीकरण गर्ने बताएको छ । कोभिड–१९ संक्रमणको असर परेका क्षेत्रको विद्यमान अति प्रभावित, मध्यम प्रभावित तथा न्यून प्रभावित वर्गीकरणमा आवश्यकताअनुसार पुनरावलोकन गर्न अध्ययन गरिने पनि समीक्षामा घोषणा गरिएको छ । (कान्तिपुर)

थप समाचार

बन्दरगाहमा थन्किए महँगा कार

२८ मंसिर २०७७, आईतवार
वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ठूलो परिमाणमा महँगा कार थन्किएका छन् । हाल बन्दरगाहको यार्डमा एक सयभन्दा बढी जिप, कार, भ्यान जाँचपास नगराई आयातकर्ताले राखेका छन् । तीमध्ये धेरैजसो ६ महिनादेखि एक वर्षअघि आयात गरेर ल्याइएको गाडी हुन् । नियमअनुसार भन्सार यार्डमा राखेको ६० दिनसम्म आयातकर्ताले आफ्नो सवारी साधन जाँचपास गराई नलगे त्यस्ता सवारीका… <a href="http://karnalibusiness.com/?p=119">पूरा पढ्नुहोस् »</a>