व्यापारको ऋण तिर्न ज्यालादारी काममा साना व्यापारी

Avatar
कर्णाली विजनेश सुर्खेत - ३ माघ २०७७, शनिबार

घरमा आर्थिक भार दिन प्रतिदिन बढ्दै गएपछि सुर्खेतस्थित वीरेन्द्रनगर–१, सोलीघोप्टेकी नन्दकला आचार्य (४२) ले सानो लगानीमा खुद्रा पसल सुरु गरिन् । व्यापार फस्टाउँदै जाँदा नन्दकला फुरुङ्ग हुँदै सोहीअनुसार सपना पनि बुन्दै थिइन् । दुई छोरी र एक छोराकी आमा उनले छोराछोरीलाई उच्च शिक्षा पढाउने सपना बुनेका थिइन् । तर विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण भएको लकडाउन र बेलाबेलाको निषेधाज्ञाले पसल सुरु गरेको हप्तादिन मै पसल बन्द गर्नुपर्यो ।

लकडाउनका कारण एकातिर घर खर्च बढ्दै थियो भने अर्कोतिर सन्तानलाई उच्च शिक्षा दिन बुनेको सपना टुट्दै थियो ।
करिब ६–सात महिनापछि लकडाउन खुकुलो भयो । उनले पुनः व्यापार सुरु गरिन् तर अपेक्षाअनुसार चलेन । आफूले बुनेका सपना साकार पार्न उनी व्यापार बन्द गरेर ज्यालादारी काम गर्न सडकमा आइन् । ‘व्यापार सुरु गर्दा ज्यालादारी काम गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने मैले सोचेको थिइन्,’ उनले भनिन् । व्यापार घाटा हुँदा ज्यालादारी काम गर्न बाध्य भएको उनले बताइन् । ‘एक–दुई दिन भए पनि व्यापार राम्रो चलेको थियो । लकडाउनले बन्द गरायो,’ उनले भनिन्, ‘त्यतिबेलाको घाटा उठाउन सडकमा काम गर्न थालेँ ।’

साना लगानीको व्यापार बन्द गराएर सडकमा काम गर्न आएका महिलाहरू ।

उनीजस्तै सोही गाउँकी दुर्गा रिजालको पनि उस्तै पीडा छ ।

फस्टाउन लागेको व्यापार लडकडाउनले बन्द गराएपछि घाटा व्यहोरेकी उनी पनि अहिले मजदुरी गर्न थालेकी छिन् । लकडाउनले साना व्यापारलाई नराम्ररी प्रभावित पारेपछि उनीहरू मात्र होइन केही साना व्यापारी पसल बन्द गरेर ज्याला मजदुरी काम गर्न थालेका छन् । ‘पसल भर्खरै फस्टाउँदै थियो । लकडाउनले बन्द भयो,’ दुर्गाले भनिन्, ‘अहिले पसलहरु खुले पनि मान्छेहरु आउँदैनन् । त्यसैले व्यापार छैन ।’ ऋण गरेर सुरु गरेको पसलको ऋण तिर्नै मुस्किल भएपछि मजदुरी गर्न थालेको उनको भनाइ छ । कोरोनाको त्रास घट्दै जाँदा व्यापार व्यवसाय खुले पनि व्यापार पहिलेकै स्थितिमा फर्किन सकेको छैन। जसले साना व्यापारी ठूलो मारमा परेका छन् ।

‘पसलबाट दैनिक चार–पाँच सय आम्दानी हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले फाइदा त परकै कुरा हो व्यापारसमेत पाँच सयको हुँदैन ।’ अहिले दैनिक ६ सय रुपैयाँमा दैनिक ज्यालादारी काम गरिरहेको दिलमाया शर्माले बताइन् । ‘दैनिकजसो काम पनि पाइन्न,’ उनी भन्छिन्, ‘लकडाउनले व्यापार चौपट बनाउँदा समस्या भएको छ ।’ पसलभन्दा ज्यालादारीमा फाइदा धेरै हुने भए पनि पसलमा सजिलो हुने साना व्यवसायीहरु बताउँछन् ।

पसल चलाउँदै घरको काम गर्न सकिन्थ्यो भन्दै उनले भनिन्, ‘ज्यालादारीमा त बिहान ९ बजेदेखि साँझ चाररपाँच बजेसम्म काम गर्नु पर्दा दुःख छ ।’ ऋण तिरेपछि पहिलकै व्यवसायलाई अगाडि बढाउने उनीहरुको भनाइ छ । कोरोना भाइरसले प्रभावित बनेका साना व्यापारीका लागि सरकारले विशेष प्याकेज नल्याउँदा झन् व्यापार धरासयी भएको साना व्यापारीहरु बताउँछन् ।

उनीहरू साना व्यापारीलाई सहुलियत ऋण र सामान ढुवानीमा समेत सहुलियत भएको भए केही राहत हुने बताएका छन् । (गणेश विशु/नागरिक)

थप समाचार

जुम्लाको कनकासुन्दरीमा १५ शैयाको अस्पताल

३ माघ २०७७, शनिबार
जुम्लाको कनकासुन्दरीका गाउँपालिका ४ हाडसिंजामा १५ शैया अस्पतालको शिलान्यास भएको छ । संघीय सरकारको १ स्थानीय तह १ अस्पताल कार्यक्रम अन्तरगत कनकासुन्दरीमा १८ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिका अध्यक्ष नरविर रावतले शिलान्यास गरेका हुन् । अस्पताल निर्माणका लागि २२ जना स्थानीयले ३५ सय वर्गमिटर जग्गा निशुल्क… <a href="http://karnalibusiness.com/?p=253">पूरा पढ्नुहोस् »</a>