३६ वटा सिँचाइ कुलोको निर्माण सम्पन्न

Avatar
कर्णाली विजनेश सल्यान - २० फाल्गुन २०७७, बिहीबार

वनगाड कुपिण्डे नगरपालिकाका किसान टङ्कबहादुर राना पक्की सिँचाइ कुलोबाट आएको पानीले खेती गर्न पाउँदा निकै खुसी छन् ।

पहिले कच्ची कुलोबाट पानी चुहिने समस्या मात्र होइन, हरेक पटक कुलो सफा गर्न जानुपर्ने अवस्था उनले भोगेका थिए । तर अहिले त्यो समस्या हट्नुका साथै कुलोबाट पर्याप्त पानी आएका कारण उत्पादन पनि बढेको छ ।

उनका अनुसार यहाँका ३० भन्दा धेरै किसानलाई पक्की कुलोबाट खेती गर्न सहज भएको छ । सिँचाइ सुविधा नपुगेका वनगाड, शारदा फाँट, कुमाख र कालीमाटीमा सिँचाइ कुलो निर्माण भएका छन् । यी ठाउँमा कुलो निर्माणले लामो समयपछि जमिन सिँचित भएको छ ।

यीबाहेक सल्यानमा अहिले अरू पनि पक्की सिँचाइ कुला बनिरहेका छन् । सयौँ बिघा क्षेत्रमा आयोजनामार्फत स्थायी कुलो निर्माण भएपछि खेती गर्न सहज भएको किसानले बताएका छन् । कुमाख गाउँपालिका–५, कालागाउँका हिमप्रकाश शाहले कुलो बनेपछि आकासे पानीको भरमा गरिने खेतीमा अहिले कुलोको पानीले सिँचित भएको बताए ।

उनका अनुसार हिउँदे र वर्षायाममा खेतीपाती गर्दा पानीको अभाव भोग्नुपरेकोमा अहिले भने सिँचाइ कुलो बन्दा गहँु बालीमा सिँचाइ गर्न सहज भएको छ ।

सल्यानमा गत वर्ष मात्र ३६ वटा सिँचाइ कुलो निर्माण भएका थिए । यस वर्ष कृषि विकास कार्यालयबाट २६ वटा र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयबाट १० वटा गरी कुल ३६ वटा सिँचाइ कुलो निर्माण भएका छन् ।

यस वर्ष खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयको सक्रियता तथा कृषि विकास कार्यालयको अनुदान रकमबाट अन्य २८ वटा पक्की कुलो बनाउने काम भइरहेको छ । कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले २८ वटा सिँचाइ कुलो निर्माणको क्रममा रहेको बताए । यस वर्ष कृषि विकास कार्यालयले ३४ वटा सिँचाइ कुलो निर्माण गरिरहेको छ ।

अहिलेसम्म जिल्लाभर सिँचित क्षेत्र सात हजार ४८८ हेक्टर छ । त्यसमध्ये वर्षभरि सिँचाइ पुग्ने क्षेत्र पाँच हजार १३ हेक्टर छ । सल्यानमा अझै पनि ३१ हजार ४३६ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ पुग्न बाँकी छ । (गोरखापत्र)

थप समाचार

‘सीप बेचेरै खान्छौँ भन्दा पनि सरकार सुन्दैन’

२० फाल्गुन २०७७, बिहीबार
जग्गाको व्यवस्था भईदिए परम्परागत सीप बेचेरै भएपनि गुजारा गर्ने भूमिकाको योजना छ । उनले भनिन्, ‘मादलहरु बनाएरै भएपनि घरखर्च चलाउन हुन्थ्यो । यसो मजदुरी गर्न गएपनि केही पैसो देखिन्थ्यो । के गर्ने यहाँ कहाँ बस्ने भन्ने पनि ठेगानै छैन ।’