जुम्लामा खाद्यान्न अभाव

Avatar
कर्णाली विजनेश जुम्ला - २५ बैशाख २०७८, शनिबार

दोस्रो लहरको कोरोना महामारीसँगै जुम्लामा खाद्य सङ्कट निम्तिने सङ्केत देखिएको छ ।

आफ्नै उत्पादनले ६ महिना पनि नधानेपछि जुम्लाका नधान्ने, खाद्य संस्थान्कै चामलमा निर्भर जुम्ली नागरिकले कोरोना महामारीको त्राससँगै खाद्य सङ्कट पनि झेल्नु पर्ने समस्या आएको छ ।

जुम्लाका धापा र जुम्लाकोट डिपोमा चामल नआएको बर्षौ बित्यो । सदरमुकामको डिपोमा पनि बिक्री गरेको खण्डमा एक हप्ता नपुग्ने खाद्यान्न छ । महामारी बढ्दै गएको र खाद्य संस्थानमा स्थानीयको भिड लाग्न थालेको छ ।

खाद्य संस्थान व्यापार कम्पनीको केन्द्रीय कार्यालयले जुम्लाका धापा र जुम्लाकोट डिपोमा वार्षिक एक–एक हजार क्विन्टल चामलको कोटा छुट्टाएको छ । तर, ठेकेदारले आर्थिक वर्ष सकिन लाग्दा समेत चामल ढुवानी नगर्दा समस्या भएको खाद्य व्यापार कम्पनी जुम्लाका प्रमुख तिलक सुनारले बताए ।

उनले भने, ‘जुम्लाको खाद्य व्यापार कम्पनीमा पनि चामल अभाव हुन थालेको छ । अहिले गोदाममा आठ सय ८० क्विन्टल चामल मात्रै मौज्दात छ । यो चामल बिक्री गरिए दुई दिनमै सकिन्छ । अब गोदाममा ताला लगाउनुको विकल्प छैन ।’

जुम्लाको वार्षिक कोटा पाँच हजार ६ सय ५० क्विन्टल चामल हो । जसमध्ये नौँ सय क्विन्टल डोल्पाको सर्मी र काईगाउँ डिपो पठाउनुपर्दछ । भने, जुम्लाका लागि चार हजार दुई सय ५० क्विन्टल मात्रै बाँकी रहन्छ ।

आफ्नो उत्पादनले ६ महिना नपुग्ने जुम्लामा वार्षिक चार हजार क्विन्टल चामलले वर्ष दिन धान्न मुस्किल रहेको प्रमुख सुनारको भनाई छ ।

चालू आर्थिक वर्षको तीन महिना अझै बाँकी रहेको र वैशाखमै चामल सकिन थालेपछि खाद्यमा पुगेका स्थानीयलाई रित्तै पठाउनुपर्ने अवस्था आएको खाद्य प्रमुख तिलक सुनाले बताए ।

वार्षिक कोटा मध्ये पाँच हजार एक सय ९३ क्विन्टल ढुवानी भई वितरण भइसकेको छ । भने, ठेकेदारले अझै चार सय ५६ क्विन्टल चामल ढुवानी गर्न बाँकी रहेको छ । तर आर्थिक वर्ष सकिन लाग्दा समेत कहिले ढुवानी गर्ने टुङ्गो छैन । ढुवानी कर्तालाई पटक पटक ताकेता गर्दा पनि अझै गाउँका डिपोमा दुई हजार क्विन्टल चामल ल्याएको छैन । गाउँका डिपो रित्तो भएपछि सदरमुकाम आउँछन् सदरमुकाममा पनि चामल दिन अवस्था नभएपछि रित्तै घर फर्किनु पर्ने बाध्यता आइपरेको छ ।

तातोपानी गाउँपालिका वडा नम्बर ७ का अनिल रावतले खाद्यको चामल पाउन मुस्किल भएपछि बजारको महँगो चामल किन्न बाध्य भएको दुखेसो पोखे । गाउँबाट एक दिन बास बसी खाद्यमा चामल लिन आउनुपर्छ । तर चामल सकिएको भन्ने जवाफ पाएर रित्तै फर्किने गरेको उनको गुनासो छ ।

अनिल रावत जस्तै सयौँ नागरिक सदरमुकाम खाद्य संस्थानबाट चामल नपाएर रित्तै फर्किने गरेका छन् ।

जुम्लामा झन्डै २० हजार घरधुरीको एक लाख नौँ हजार बढी जनसङ्ख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको छ ।

अहिले जुम्लाका गाउँका डिपो देखि सदरमुकामको डिपोमा चामल अभाव भएपछि स्थानीय महँगीको मारमा परेका छन् । यता व्यापारीले कोभिड र खाद्यको चामल अभाव भएको मौका छोपी मनपरी मूल्यवृद्धि गरेका छन् ।

हुम्लामा खाद्यान्न संकट हुन नदिन पुनः हवाई उडान शुरु

कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) हुम्लाले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।

केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो ।

जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो । गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो ।

एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ । निजी विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री झार्न लोडरले अनिवार्य पिपिसेट लगाउनुपर्ने बताइएको छ ।

निषेधाज्ञा जारीपछि डिसिसिएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान भरेको छ । जिल्लामा खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री ल्याउन उडान अनुमति दिइएसँगै सीता एयरले सुर्खेत र नेपालगञ्जबाट नेपाल खाद्य तथा व्यापार कम्पनीको चामल ल्याएर उडान भरेको एयर हुम्लाका स्टेशन इञ्चार्ज छेपाल लामाले जानकारी दिनुभयो । (रेडियो नेपाल)

थप समाचार

सास बाड्ने अभियन्ता

२५ बैशाख २०७८, शनिबार
सुर्खेतमा पनि संक्रमितहरुको संख्या बढ्न थाल्यो । संक्रमणका कारण दिनहुँ नागरिकहरुले ज्यान गुमाउन थाले । यसै समयमा जन्मिएको हो, ‘सुर्खेत कोभिड–१९ सेल्फ हेल्प समुह ।’

सम्बन्धित