जुम्लामा नेपालकै ठुलो फुजि स्याउ बगैँचा

Avatar
कर्णाली विजनेश जुम्ला - २५ बैशाख २०७८, शनिबार

जुम्ला गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउ बगैँचा स्थापना गरिएको छ ।

गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारीको करिब ८ करोड व्यक्तिगत लगानीमा देशकै नमुना र ठुलो स्याउ बगैँचा निर्माण भएको हो ।

जुन बगैँचाको शुक्रवार कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारम्भ भएको घोषणा गरे ।

बगैँचा निर्माणका लागि ८७ जना स्थानीयबाट लिजमा लिइएको एक लाख ५० हजार बर्गमिटरमा फैलिएको नमुना बगैँचामा एकैसाथ शुक्रवार ३० हजार फुजि स्याउका बिरुवा रोपिएको छ ।

८ करोड लगानीमा पूर्वाधार सहितको सुविधा सम्पन्न प्राविधिक जनशक्ति सहितको नमुना स्याउ बगैँचा निर्माण भएको छ ।

८७ जनाको १ लाख ५० हजार वर्ग मिटर जग्गा ३० वर्षका लागि लिजमा लिइएको छ ।

उक्त नमुना बगैँचाबाट कोरोना कहरकै बीच दैनिक करिब १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

स्याउ बगैँचालाई एक गौरवको परियोजनाका रुपमा हेरिएको छ । व्यक्तिगत लगानीमा बगैँचा निर्माण भए पनि कर्णालीको आर्थिक विकास, किसानको जीविकोपार्जन र रोजगारी सृजनामा कोशेढुंगा साबित हुने कृषि सचिव डा.राजेन्द्र प्रसाद मिश्रले बताए ।

उनले भने, ‘दोस्रो लहरको कोभिडबाट देश आक्रान्त छ । फेरी उद्योग कलकारखाना बन्द भएका छन् । आर्थिक आम्दानी, उद्यमशीलताका काम रोकिएका छन् । तर देशकै नमुनाका रुपमा जुम्लामा ३० हजार बिरुवा रोपिएको स्याउ बगैँचा लकडाउनकै बीच स्थापना भएपछि खुसीको सन्देश दिएको छ ।’

देशको नमुना र कर्णालीको सान स्याउ बगैँचा उद्घाटनका लागि कोरोना कहरका बीच पनि जोखिम मोलेर आफु जुम्ला पुगेर किसान, उद्यमी भण्डारीलाई हौसला दिन जुम्ला पुगेको कृषि मन्त्रालयका सचिव मिश्रले उल्लेख गरे ।

साथै उनले नेपालको ठुलो स्याउ बगैँचा मात्र नभई कृषि तालिम केन्द्रका साथै फुजि स्याउ अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नमुना बगैँचाबाट उत्पादित स्याउको स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक निर्माण लगायतका प्राविधिक सहयोग भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले सहयोग गर्ने समेत प्रतिबद्धता उनले गरे ।

व्यक्तिगत ८ करोड लगानी गरेर कृषि क्रान्ति सुरु गरी सरकारलाई कृषि क्षेत्रमा लगानी गर्न बाध्य बनाएको र उद्यमी मीन बहादुर भण्डारीको कृषि कर्मलाई थप बलियो र दिगो बनाउन प्रदेश सरकारले आवश्यकता अनुसार लगानी गर्नेमा दुई मत नहरको समेत उनले आश्वासन दिए ।

उनले कोरोनामा रोजगारी खोसियो, आम्दानी गुम्यो भनेर उर्वर बाँझो जग्गा टुलुटुलु हेरेर बस्ने युवाहरूका लागि गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारी उत्प्रेरणाको स्रोत बनेको र भण्डारीको श्रमलाई प्रदेश सरकारले उच्च सम्मान गर्ने उल्लेख गरे ।

बगैँचामा रोपिएका ३० हजार बिरुवा मध्ये कम्तीमा १ हजार बिरुवा मात्रै जोगाउन सके पछिको पेन्सन हुने समेत उनको भनाई छ ।

स्याउ सुपर जोन कार्यालय जुम्लाले नमुना स्याउ बगैँचा निर्माणका लागि ५ हजार बिरुवा र थोपा सिचाई गरी ४६ लाख बराबरको सहयोग गरेको सुपर जोनका प्रमुख नवराज भण्डारीले बताए ।

लामो प्रयास र सङ्घर्षबाट देशकै ठुलो बगैँचा निर्माण भएको र सरकारी निकाय सुपर जोनको मात्रै सहयोग रहेको उनको भनाई छ ।

गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारीले देशकै ठुलो र नमुना बगैँचा स्थापनाले जुम्लाको आर्थिक विकास र रोजगारी सृजनामा टेवा पु¥याउने विश्वास गरेको बताए ।

उनले भने, ‘अबको एक वर्षपछि पाँच सय किसानले रोजगारी पाउनेछन् । हरेक किसान लाखौँका दरले कमाउने छन् । गत वर्ष लकडाउनदेखि सुरु गरिएको बगैँचा निर्माण कार्य एक वर्षपछि पूर्णता पाएर बिरुवा रोपिएको छ ।’

उनले कृषि सचिव आएर बगैँचामा बिरुवा रोपी उद्घाटन गरेर हौसला दिएपछि खुसी लागेको भन्दै फुजि स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिलेको उल्लेख गरे ।

उनका अनुसार हाल सम्म करिब ८ करोड खर्च भइसकेको छ । १ लाख ३० वर्ग मिटरमा फैलिएको बगैँचामा ३० हजार बिरुवा रोपिसकेका छौँ ।

हाल एक दिनमा करिब डेढ सय जनाले रोजगारी पाएका छन् । भने, गुठिचौर एग्रो फार्म प्रा.लिमा पुर्णरुपमा काम गर्ने एक जना आयोजना प्रमुख, २ जना लेखापाल १ जना ओभरसियर, २ जना स्टोर किपर रहेका छन् ।

त्यस्तै हेल्पर १२ जना, जेटिए ४ जना चौकीदार ४ जना, २ जना सहजकर्ता, ३ जना चालक र ३ जना सहचालक गरी करिब ५० जना जनशक्ति राखिएको छ ।

उनीहरूले कोरोना कहरमा रोजगारी पाएका छन् ।

लगानीकर्ता मीनबहादुर भण्डारीले विगतमा जडीबुटी व्यापार गर्दा कमाएको रकम स्याउ खेतीमा लगानी गरेका हुन् ।

अन्यले व्यक्तिले कमाएर सुर्खेत नेपालगन्ज घर बनाएका छन् । उनले थपे, ‘तर मैले आफ्नै भूमिमा स्याउ बगैँचामा लगानी गर्न पाउँदा खुसी छु । साथीभाइले रोजगारी पाउने, बाँझो जग्गा सदुपयोग हुने लक्ष्यले आफ्नै ठाउँमा लगानी गरेको छु । अझै मलजल, सिँचाई, प्राविधिक सहयोग, रोग किरा नियन्त्रणमा प्रदेश तथा स्थानीय सरकारसँग सहयोगको अपेक्षा छ ।’

अहिले बगैँचामा करिब २३ लाख बराबरको अर्गानिक मल हालिएको छ ।

उद्यमी तथा लगानीकर्ता मीनबहादुरले दुई बर्ष अघि आफ्नै जग्गामा २ हजार ६ सय फुजि स्याउका बिरुवा रोपेर परीक्षण गरिसकेका थिए । जसमध्ये २ हजार २ सय बिरुवाले फल दिँदै आएका छन् । त्यसको सफलतासँगै करोडौँ लगानी गरेर देशकै ठुलो बगैँचा निर्माणमा उनि जुटेका हुन् ।

देशका ठुला ठुला कृषि विज्ञ अनुभवी किसानको सल्लाह सुझावका आधारमा बगैँचा निर्माण गरिएकोले सफल हुने भण्डारीको विश्वास छ ।
हाल जुम्लाको ३ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको छ । (सागर परियार/रेडियो नेपाल)

थप समाचार

चीनबाट चार सय खाली सिलिन्डर ल्याइँदै

२५ बैशाख २०७८, शनिबार
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सिलिन्डर ल्याउनका लागि यही वैशाख… <a href="http://karnalibusiness.com/?p=493">पूरा पढ्नुहोस् »</a>