दही–चिउँराले चलाएको जिवन

पुनम बि.सी.
पुनम बि.सी. सुर्खेत - १९ फाल्गुन २०७७, बुधबार

दही–चिउँरा ।

सुर्खेत आसपास वसोवास गर्नेहरुलाई दही–चिउँरा भन्नेवित्तिकै मानसपटलमा एउटै दृश्य कोरिन्छ, वीरेन्द्रनगर नगरपालिका अन्र्तगतको कटकुवा क्षेत्र ।

सुर्खेत–दैलेख सडकखण्ड अन्र्तगत पर्छ कटकुवा ।

वीरेन्द्रनगर उपत्यका देखि उकालो उत्तर तर्फ लागेपछि केहि किलोमिटरको यात्रा पश्चात आईपुग्छ, कटकुवा ।

उकालो लागेकाहरुको विश्रामस्थल कटकुवा नै हो । दैलेखबाट ओरालो–ओरालो सुर्खेत तर्फ झर्नेहरुका लागि थकाई मेट्ने शितल विन्दु पनि । र, यहाँको दही–चिउँरा ।

पक्की सडक, केहि समथर भु–भाग, छेउमै छहारी दिने ठुलो रुख । रुखको छेवैबाट जोडिन्छन् दही–चिउँरा बेच्ने केहि थान पसलहरु ।

प्राय सबै, तिन भिक्ते पसलहरु झिँजा–मिँझा दाउराले बारिएका छन् । रुखका हाँगाले बनाईएको बेञ्च छन् । र, दन्किरहने रापिलो आगोमाथी तातो बाँफ फ्याक्ने किट्लीको छेउमै उभिने दहीको ठेकी प्राय सबै पसलहरुमा भेटिन्छन् ।

किनकी यहाँको मुख्य व्यापार नै दही चिउँराको हो ।

वीरेन्द्रनगर निवासी ‘देवकोटा बज्यै’को पसल पनि यही नै छ । १६ र्औँ वर्षदेखि देवकोटा बज्यै यही कटकुवा क्षेत्रमा दही–चिउँरा बेचिरहेकी छिन् ।

सुर्खेत–दैलेख सडकखण्डमा यातायातका साधनहरु सञ्चालनमा आएदेखि नै उनको व्यवसाय पनि शुरु भयो । उनि सम्झन्छिन्, ‘यो बाटो शुरु भएदेखि नै मैले व्यवसाय शुरु गरेकी हुँ ।’

हुनत्, उनको नाम बालकुमारी देवकोटा हो ।

सबैले उनलाई देवकोटा बज्यै भनेर चिन्छन् ।

र, उनको पसलमा पाइने दही–चिउँराको स्वादमा सबैको जिब्रो रसाउँछ ।


उनि भन्छिन्, ‘यहाँ सबैभन्दा धेरै बिक्रि हुने भनेकै दही–चिउँरा नै हो । मोटरसाइकल, गाडी रोकेर एकछिन सुस्ताउँदै यात्रुहरु दही–चिउँरा खान बस्छन् ।’

५२ वर्षीय देवकोटा बज्यैको दैनिकी हरेक दिन विहान चार बजेबाट शुरु हुन्छ ।

विहानी यात्रीका लागि चिया पस्कन उनि सवेरै आईपुग्छिन् । नजिकै जंगलमा रहेको धाराबाट पानी ल्याएपछि उनको व्यवसायीक दैनिकीको शुरु हुन्छ ।

जब–जब घाम चढ्दै जान्छ, दही–चिउँराका ग्राहक पनि थपिदै जान्छन् ।

व्यापारमा सघाउँने श्रीमान् पनि छन् । उनका श्रीमान् भिमप्रसाद देवकोटा पहिले भेटेनेरीमा जागिर गर्थे । जागिर र व्यवसाय सँगसँगै चलाउन अप्ठ्यारो भएपछि भिमप्रसादले जागिर छोडे ।

उनले भनिन्, ‘उहाँको जागिर र मेरो व्यापार सँगसँगै जान सकेन । व्यापारलाई नै समय दिने निर्णय गरेपछि उहाँले जागिर छाड्नुभयो । अहिले व्यापारमा मलाई सघाउनुहुन्छ ।’

देवकोटा बज्यैका ६ सन्तान छन्, पाँच छोरी र एक छोरा ।

चार छोरीहरुको विहे भईसक्यो । छोरा–वुहारी दुवै भने नेपाल प्रहरीमा जागिरे छन् ।

देवकोटा बज्यै कहाँ दैनिक दुई सय भन्दा बढी ग्राहकको आगमन हुन्छ ।

चिया, चना–अण्डा अनि खासगरी दही–चिउँराका ग्राहकहरु ।

उनि भन्छिन्, ‘एकपल्ट यहाँ आएको मान्छे अर्को पल्ट आउँछ, आउँछ । यो बाटो हिड्दा एकछिन भएपनि उनिहरु हाम्रो पसलमा प्राय रोकिन्छन् ।’

दहि–चिउँराको व्यापारबाट घरखर्च कटाएर मासिक २५ हजार रुपैयाँसम्म उनको बचत हुन्छ ।

उनले भनिन्, ‘पहिले पैसो देख्नै पाईन्थेन । घरमा भैसी पनि पालेका थियौँ । उहाँ जागिर गर्नुहुन्थ्यो । दुःख कहिल्यै गएन । तर यहाँ पसल गर्न थालेपछि भने खुशी नै छौँ । आफ्नै व्यवशाय गरेका छौँ । धेरै–थोरै पैसो पनि देख्न पाईन्छ ।’
साँझ आठ बजे पसल देखि घर फर्कने देवकोटा दम्पतिको दैनिकी हो ।

साँझ हुन्छ, ग्राहक पनि घट्दै जान्छन् । देवकोटा दम्पति भने पसलका सामान पोको–पुन्तरो पारेर नजिकैको गोठिकाँडा बजार (घर) लाग्छन् ।

थप समाचार

टेलिकमको ‘एफटीटीएच’को माग बढ्यो

१९ फाल्गुन २०७७, बुधबार
वीरेन्द्रनगरमा मात्र हालसम्म फाइबर टु द होम (एफटीटीएच) सेवा लिने सेवाग्राहीको सङ्ख्या दुई हजार दुई सय रहेको टेलिकमको तथ्याङ्कमा उल्लेख छ । तर, टेलिकमले एफटीटीएच विस्तारमा प्राविधिक कारण देखाउँदै माग अनुरूपको सेवा विस्तार गर्न नसक्दा उपभोक्तामा असन्तोष बढिरहेको छ ।