टेलिकमको ‘एफटीटीएच’को माग बढ्यो

Avatar
कर्णाली विजनेश सुर्खेत - १९ फाल्गुन २०७७, बुधबार

नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तारलाई तीव्रता दिएको छ ।

उपभोक्ताको माग बढ्दै गएपछि टेलिकमको सुर्खेत शाखाले फाइबर टु द होम (एफटीटीएच) सेवा जिल्लाका आठ स्थानमा थप विस्तार गर्न लागेको हो ।

एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले उपभोक्तामाझ यसको माग बढ्दै गइरहेको छ ।

सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाइन ग्राहकको सङ्ख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाइन जडान गर्नतर्फ आकर्षित गरेको हो ।

टेलिकम सुर्खेतका अनुसार एयरपोर्ट, तातोपानी, बाङ्गेसीमल, क्षेत्रमा थप सेवा विस्तार गर्न लागिएको छ ।

बुलबुले, अस्पताल रोड, ईत्राम, खजुरा क्षेत्रमा सर्वे नहुँदा टेलिकमले सेवा विस्तार गर्न नसकिएको टेलिकमको भनाइ छ ।
यद्यपि ! जुन क्षेत्रबाट सेवाग्राहीको माग जति धेरै आउँछ, त्यहीँ अनुपातमा माग आएका क्षेत्रमा सेवा विस्तार गर्ने टेलिकमको नियम रहेको छ ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा हालसम्म फाइबर टु द होम (एफटीटीएच) सेवा लिने सेवाग्राहीको सङ्ख्या दुई हजार दुई सय रहेको टेलिकमको तथ्याङ्कमा उल्लेख छ ।

तर, टेलिकमले एफटीटीएच विस्तारमा प्राविधिक कारण देखाउँदै माग अनुरूपको सेवा विस्तार गर्न नसक्दा उपभोक्तामा असन्तोष बढिरहेको छ ।

सदरमुकाम वीरेन्द्रनगरकै उपभोक्ताको मागलाई टेलिकमले सम्बोधन गर्न नसक्दा गुनासो बढिरहेको टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर नारायणप्रसाद कुसीले बताए ।

उनले मूलतः फाइबर टु द होम (एफटीटीएच) विस्तार पूर्व केन्द्रीय कार्यालयबाटै जनघनत्व, ट्राफिक साइट, कभरेज लगायतको सर्वेक्षण हुने गरेकाले उपभोक्ताको माग अनुरूपको सेवा तत्काल सम्बोधन गर्न ढिलाइ भइरहेको जनाए ।

उपभोक्ताले मागे अनुरूप सेवा पाउन नसकिरहेको गुनासो बढ्दै गएपछि कार्यालयले फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार तीव्रता दिए पनि पर्याप्त हुन सकेको छैन । अहिले पनि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरका केही स्थानमा मात्र टेलिकमले आफ्नो फाइबर टु द होम (एफटीटीएच) सेवाको विस्तार गर्न सकेको छ ।

त्यस्तै गत वर्ष सुर्खेत जिल्ला भरी ल्याण्डलाइन ग्राहकको सङ्ख्या ५ हजार ६ सय रहेकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै ल्यान्ड लाइन ग्राहकको सङ्ख्या ७ हजार पुगेको हो ।

टेलिकमले फाइबर टु दी होम (एफटीटीएच) सेवा सुर्खेत जिल्ला भरी विस्तार गरिने योजना रहेको बताएको छ । थप विस्तारको काम भइरहेकाले अब चालु आर्थिक वर्ष भित्र कुनै बाधा अड्चन नआए ६ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको कार्यालय प्रमुख इन्जिनियर कुसीले बताए ।

उनले सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताको लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको बताए ।

उनका अनुसार टेलिकमको वेवसाइज तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध रहेकाले ग्राहकको माग नआएसम्म तत्काल क्षेत्र विस्तारमा समस्या रहेको छ ।

‘कर्णाली प्रदेशको दैलेख जिल्ला भरी एफटीटीएच सेवा विस्तार भइसकेको छ,’ उनले भने, ‘छिट्टै सल्यानको श्रीनगर र सल्ली बजार, सुर्खेतका छिन्चु, जहरे, मेहेलकुनालगयातका क्षेत्रमा एफटीटीएच सेवा पु¥याउँदैछौं ।’

उनले सुर्खेतसँगै प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार गर्ने अभियान जारी रहेको जनाए । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीवी र भिडियो सेवाहरू प्रदान गर्न सकिने भएकोले ग्राहकहरूको लागि यो सेवा प्रभावकारी रहेको छ ।

पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् । यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनमा दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आइएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ ।

हाल प्रयोगमा रहेको ल्यान्ड लाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनमा पनि विभिन्न तरिकाले महसुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ । (आकाश तारा बयक/रेडियो नेपाल)

थप समाचार

डढेलोमा तीन घर जले

१९ फाल्गुन २०७७, बुधबार
रैजेखोला, चौखेढुंगा वनबाट सुरु भएको डढेलो बस्तीमा पुगेपछि स्थानीय दधिराम खत्रीका दुई र मोहलाल शर्माका एक गरी तीन घर जलेर नष्ट भएका हुन् ।