स्याउखेतीमा आर्कषण

Avatar
कर्णाली विजनेश जुम्ला - १२ चैत्र २०७७, बिहीबार

तातोपानी गााउँपालिका स्थित हिँयाखोलामा सामूूहिक स्याउखेती सुरु भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ ।

जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिए ।

उनले भने, ‘तातोपानी–६ हिँयाखोलाका किसान मिलेर नमूना स्याउ बगैँचा बनाउन जुटेका छन् । यहाँ एक लाख ९० हजार वर्गमिटर (१९ हेक्टर) क्षेत्रफलमा साढे पाँच हजार स्याउका बिरुवा रोपिएको छ ।’

सो जमिनमा यसअघि गहुँ र जौ लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयवासी त्यहाँ सामूहिक स्याउखेतीमा आकर्षित भएको कार्यालयले जनाएको छ ।

समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने भएकाले सामूहिकरूपमा स्याउखेती शुरुआत गरिएको स्थानीयवासी देवीकन्या खड्काले बताइन् ।

बेरोजगार युवालाई समेत रोजगारी सिर्जना गर्नेगरी सामूहिक स्याउ कृषिमा आफूहरू जुटेको जानकारी दिदै उनले भन्,ि ‘गाउँ शैक्षिक र आर्थिक हिसाबले पनि निकै पछाडि छ, गाउँमा एक जना पनि निजामती कर्मचारी छैनन् । सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यस बगैँचाले सिङ्गो गाउँको जीवनस्तर उठ्नेदेखि व्यवसायतर्फ स्थानीयवासीलाई अघि बढ्नमा मद्दत पुग्ने छ ।’

अहिले गाउँका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले भने, ‘स्याउ किसानले स्याउखेतीबाटै आत्मनिर्भर बन्ने योजनाप्रति स्थानीय सरकारदेखि स्याउ सुपरजोन कार्यालयको पनि साथ छ ।’

ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमूना स्याउ बगैँचा बनाउने स्थानीयवासीको प्रयासलाई स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ । घेराबारका लागि रु २० लाख अनुदान दिएको छ । गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि रु पाँच लाख बजेट दिने घोषणा गरेको उनले बताए ।

सो बगैँचाको घेराबारका लागि रु ३९ लाख खर्च हुने अनुमान गरिएको परियोजनाले जनाएको छ । उनले भने, ‘समुदायस्तरबाट यति ठूलो क्षेत्रफल र लगानीमा स्थानीय जातको स्याउ बगैँचा कतै पनि छैन ।’

स्याउ बगैँचा पर्यटकीय दृष्टिले समेत राम्रो रहेको परियोजनाले जनाएको छ । सामूहिक कृषि खेती गर्नस्थानीय सरकारले आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिए ।

कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउनका लागि किसानसँग सहकार्य गरी अघि बढ्ने गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले बताइन् । परियोजनले यहाँको चन्दननाथ नगरपालिका–९ मा १०० ओखरको सामूहिक खेती गरेकोे जनाएको छ ।

जिल्लामा सो परियोजना कार्यान्वयनमा आएपछि स्याउ र ओखरखेतीमा लागेका किसानलाई प्राविधिक ज्ञान र सीपमूलक तालिम सञ्चालन भइरहेको छ । (रेडियो नेपाल)

थप समाचार

फरक क्षमताका विद्यार्थीलाई लाइन्सको सहयोग

१२ चैत्र २०७७, बिहीबार
लाइन्स क्लव अफ सुर्खेत भ्यालीकी अध्यक्ष प्रतिमा मल्लले भनिन्, ‘साना कक्षाका विद्यार्थीहरु भुईमा बसेर अध्ययन गर्ने गछ्र्रन् । उनिहरुको अध्ययन क्रियाकलापमा सघाउँ पुर्‍र्याउनका लागि हामीले टेवल र कुसन सहयोग गरेका छौँ ।’