मुगु जिल्लाका किसानहरू परम्परागत र पोषिलो जहु (जौं) बालीको खेतीमा जुटिरहेका छन् । धान बाली भिœयाएपछि किसान चैन जिउला लगायतका स्थानमा आफ्ना गोरुको सहयोगमा खेत जोतेर जौं रोप्ने तयारी गरिरहेका छन् ।
जिल्लाका धेरै ठाउँमा जौं उत्पादन हुने भएकाले यस बालीको लोकप्रियता अझै बढेको छ । पोषणयुक्त र अति महत्वपूर्ण मानिने यो बालीको माग पनि दिनप्रतिदिन बढ्दैछ । जौं खरिदका लागि मानिसहरू गाउँमै पुग्ने र रामो मूल्यमा जौं बिक्री हुने हुँदा यस बाली उत्पादनले निरन्तरता पाउँदै आएको कार्कीवाडाका कृषक तिलकबहादुर कार्कीले बताए ।
गाई भैँसीलाई दालोको रूपमा खुवाउँदा दूध प्रशस्त दिने र सातुको रूपमा मानिसले प्रयोग गर्दा शक्ति दिने अन्न भएकाले यसको माग बढ्दै गएको कार्कीको भनाई छ ।
मुगु जिल्लामा परम्परागत रूपमा लगाइँदै आएको जौंको खेतीले स्थानीय किसानहरूलाई आर्थिक उर्पाजनमा सहयोग गर्दै आएको छ । यस्तो पोषिलो अन्नको बजारमा माग बढ्दै जाँदा किसानहरू यसलाई संरक्षण गर्न र थप उत्पादन गर्न उत्प्रेरितसमेत भइरहेका छन् । मुगु जिल्लाका खतेड, छायानाथरा, सोरू र कार्मारोङका केही उच्च बस्तीहरूमा जौं खेती विशेष रूपबाट गरिँदै आएको छ । (विनोदकुमार मल्ल/रेडियो नेपाल)
+ There are no comments
Add yours