आगामी मंसिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ३९ पदमा उपनिर्वाचन हुँदैछ ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।
कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख–एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष– पाँच स्थानमा उपनिर्वाचन हुँदैछ ।
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५, रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका सूचना अधिकारीका सुमन घिमिरेले उपनिर्वाचनको तयारी तीव्ररुपमा अघि बढेको बताए । घिमिरेले भने, ‘समग्रमा हाम्रो तयारी तीव्ररुपमा भइरहेको छ । सबभन्दा मुख्य कुरा निर्वाचनका लागि चाहिने मतदाता नामावली हो । यो कात्तिकको २५, २६ गतेसम्म अन्तिम मतदाता नामावली तयार गर्ने गरी मतदाता नामावली अद्यावधिकको काम हुन्छ ।’
आयोगले स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बमोजिम अहिले जुन स्थानीय निकायमा पुरुष जनप्रतिनिधि कार्यरत छन्, त्यस ठाउँमा महिला उम्मेदवार उठाउन राजनीतिक दललाई निर्देशन दिएको छ ।
घिमिरेले भने, ‘स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाअन्तर्गत हरेक स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवारी दिँदाखेरी राजनीतिक दलले ५० प्रतिशत महिला उम्मेदवार दिनुपर्छ भन्ने कुरा कानुनमा व्यवस्था छ । त्यो व्यवस्थाअन्तर्गत अहिले जुन–जुन स्थानीय तहमा प्रमुख या उपप्रमुख खाली छ, जो बहाल भएर बसिरहनुभएको छ, उहाँहरु पुरुष प्रतिनिधि हुनुहुन्छ भने महिलाको उम्मेदवार दिनु कानुनको व्यवस्था अनुकूल हुन्छ, संविधानको भावना अनुकूल हुन्छ भन्ने लाइनबाट निर्वाचन आयोगले सबै राजनीतिक दलहरुलाई निर्देशन जारी गरेको छ ।’
आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । मतदान मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ ।
+ There are no comments
Add yours