सुनको मूल्यले हरेक दिन रेकर्ड कायम राखेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ आठ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार नौं सय रुपैयाँ पुगेको थियो ।
दसैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला एक लाख ५९ हजार एक सय रुयैयाँ थियो । दसैं बिदापछिको पहिलो दिन असोज २९ गते एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो ।
असोज ३० गते एक लाख ६१ हजार आठ सय, कात्तिक १ गते एक लाख ६२ हजार चार सय, कात्तिक २ गते एक लाख ६४ हजार चार सय र कात्तिक ४ गते एक लाख ६५ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदी पनि अहिलेसम्मकै महँगो भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार एक सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार भने चाँदीको मूल्य दुई हजार एक सय रुपैयाँ रहेको थियो । मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।
+ There are no comments
Add yours