नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट यु–१९ विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने भएको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार दिने घोषणा गरेको हो ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा बुधवार भएको अन्तिम खेलमा घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक उपलब्धि चुमेको थियो ।
नेपालले छनोटमा ६ खेलबाट १० अङ्क जोड्यो । युएईले पनि समान खेलबाट समान अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । नेपालले ३.९३५ नेट रनरेट बनायो ।
यस्तै, नेपाललाई पहिलो खेलमा १३ रनले हराएको युएई भने ३.७४० नेट रनरेटमा समेटियो । नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ ।
अफिसियललाई भने जनही एक लाख ५० हजार नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको छ । नेपाली यु–१९ राष्ट्रिय महिला क्रिकेट टोलीले आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकपमा अस्ट्रेलिया र बङ्गलादेशजस्ता ठुला राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल रहेको समूह ‘डी’ मा यी दुई टोलीबाहेक स्कटल्यान्ड पनि छ ।
विश्वकपभन्दा अगाडि नेपालले डिसेम्बर १५ देखि १८ सम्म मलेसियामा नै आयोजना हुने यु–१९ महिला एसिया कप खेल्ने छ । नेपाल रहेको समूहमा भारत र पाकिस्तान छन् ।
+ There are no comments
Add yours