कारखाना बन्द भएको १३ वर्षपछि तत्कालिन मजदुरले तलब पाउने

नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् । १३ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन काम नलाग्ने भइसकेका छन् ।

यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुुनुअघिको तलबभत्ता पाएका थिएनन् । नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले उक्त तलबभत्ता दिन कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म रकम पाउने सहमति भएको बताए ।

यहाँ कार्यरत मजदुरले कारखानासँग ३२ करोड रुपियाँ तलबबापतको भुक्तानी पाउने गरी कारखाना व्यवस्थापन र मजदुरबिच सहमति भएको उपाध्यक्ष श्रेष्ठले बताए । कारखाना १३ वर्षदेखि पूर्ण रूपमा बन्द छ । यो कारखाना चीन सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गर्दै आएको थियो । पछि सरकारले गोल्छा अर्गानाइजेसनलाई बिक्री गरी कारखाना निजीकरण गरिएको छ ।

कारखानामा कार्यरत मजदुरको तलबभत्ता माग गर्दै टे«ड युनियनले बेलाबेलामा संघर्ष गर्दै आएका थिए । अहिले पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहाल र आधिकारिक ट्रेड युनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेको पीडित मजदुरका तर्फबाट आन्दोलनका संयोजक दर्शन सापकोटाले जानकारी दिए । २०६७ सालअघि र त्यसपछि कारखाना सञ्चालन हुँदादेखि हालसम्मको तलब दिने गरी सहमति भएको सापकोटाले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये ३२८ कर्मचारीले तलब पाउने भएका हुन् । सम्झौता भएको मितिले असार मसान्तभित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ ।

२०३७ सालदेखि सञ्चालित यो कारखाना २०४८ सालमा सरकारले निजीकरण गर्ने नाउँमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरेपछि निजी स्तरमा सञ्चालन भएको भृकुटी कागज कारखाना २०६७ मा बन्द भएको हो । यसका करोडौँ मूल्य पर्ने मेसिनलगायतका सामान नष्ट भएर जान थालेका छन् भने अहिले भृकुटी कागज कारखाना खण्डहरजस्तै बनेको छ ।

स्थानीय स्तरमा गठन भएको नागरिक सरोकार समितिले भृकुटी कागज कारखाना स्थानान्तरणलाई मुख्य मुद्दा बनाएर स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको र त्यहाँका मजदुरलाई तलबभत्ता दिनुपर्ने मुद्दासमेत उठाएर आन्दोलन गरेको संयोजक वेदप्रसाद गौडेलले बताउनुभयो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कागज कारखानामा रहेका पुराना संरचना, ग्यास र जस्तापातालगायतले नागरिकलाई असर पर्न नदिने गरी काम गर्ने बताए ।

जीर्ण अवस्थाको भृकुटी कागज कारखाना गैँडाकोटमा ५६ बिघा क्षेत्रफलमा फैलिएको छ । घना झाडी, पुराना हानिकारक रसायनसमेत रहेको कारखाना स्थानीयको सुरक्षाका लागि खतरा बन्दै गएको सरोकार समितिका सदस्य नारायण सापकोटाले बताए ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours