आज स्थानीय तह उपनिर्वाचन

जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदैछ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।

१ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको छ । मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । मत हाल्न मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्नेछ । मतदाता परिचयपत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको आयोगले जनाएको छ । मतदानको पूर्वसन्ध्यामा प्रेस विज्ञप्ति जारी गरेर आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदातालाई आफ्नो नाम रहेको मतदान केन्द्रमा उपस्थित भएर निर्धक्कसाथ मतदान गर्न आह्वान गरेको छ । यस पटक मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक भने लगाइएको छैन ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानस्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयमार्फत सम्बन्धित प्रमुख जिल्ला अधिकारी लाई निर्देश गरेको छ । मतदान हुने स्थानीय तह र वडामा मात्रै सार्वजनिक बिदाको व्यवस्था मिलाउन पनि भनिएको प्रवक्ता अर्यालले बताइन् ।

मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मतगणना थालिने आयोगले जनाएको छ । स्थानीय तहको आधा कार्यकाल पूरा भएकै बेला हुँदै गरेको उपनिर्वाचनलाई दलहरूले ‘मध्यावधि परीक्षण’ का रूपमा हेरेका छन् ।

उपनिर्वाचनअन्तर्गत रुकुमपूर्वको पृथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती भने निर्विरोध निर्वाचित भइसकेका छन् । कैलालीको जिसस प्रमुखमा कांग्रेसका टीकाकुमारी चौधरी (भुल) र ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसकै टेकराज भट्टराई पनि निर्विरोध विजयी भएका छन् ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours