कर्णाली प्रदेशः तीन महिनामा ४ प्रतिशत पूँजीगत खर्च

चालु आर्थिक वर्षमा समेत कर्णालीमा पूँजीगत बजेट खर्च शैलीमा परिवर्तन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेश सरकारले पूँजीगत तर्फको बजेट खर्चलाई बढाउन सकेको देखिदैन ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले पूँजीगत तर्फ चार दशमलव शून्य ६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको कार्तिक २ गतेसम्मको तथ्यांक हेर्दा कर्णाली प्रदेश सरकारले पूँजिगत बजेट तर्फ ७६ करोड १३ लाख ५८ हजार नौं सय १३ रुपैयाँ खर्च गरेको छ । २०८१/०८२ का लागि कर्णालीले पूँजिगत तर्फ १८ अर्व ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

२०८१/०८२ मा कर्णाली प्रदेश सरकारले कुल ३१ अर्व ४१ करोड ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस बजेटमा १२ अर्व ४० करोड ४८ लाख ७३ हजार चालु तर्फ समावेश थियो । त्यसैगरी वित्तिय तर्फ २५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

चालु बजेट तर्फ कर्णालीले हालसम्ममा एक अर्व ४६ करोड ५७ लाख ३० हजार तीन सय ४६ रुपैयाँ ८१ पैसा बजेट खर्च गरेको छ । असोज मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले कुल बजेटबाट दुई अर्व २२ करोड ७० लाख ७९ हजार दुई सय ६० रुपैयाँ निकासा दिएको छ ।

विकासे मन्त्रालयमा खर्च न्यून

भौतिक विकास निर्माणसँग प्रत्यक्ष संलग्नता रहने भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्रालय जस्ता मुख्य मन्त्रालय मातहतमा पूजिगत खर्चको खास सुवात हुन सकेको छैन ।

पूजीगत खर्च तर्फ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले दुई दशमलव ३३ प्रतिशत मात्र बजेट खर्च गरेका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले चार दशमलव शून्य एक र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई दशमलव ४२ प्रतिशत पूजीगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक दशमलव ६०, आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक दशमलव ८७, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच दशमलव ४९ प्रतिशत, सामाजिक विकास मन्त्रालयले नौं दशमलव १५ प्रतिशत र आर्थिक मामिला तथा योजना मन्त्रालयले ४३ दशमलव ८२ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् ।

कुल बजेटमा ७ प्रतिशत खर्च

कर्णालीको कुल बजेटमा सात दशमलव शून्य नौं प्रतिशत बजेट खर्च भएको छ । असोज मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले चाँलु तर्फ ११ दशमलव ८२ र पूँजीगत तर्फ चार दशमलव शून्य ६ प्रतिशत बजेट खर्च गरेको हो ।

कुल बजेट तर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दशमलव ७६, आर्थिक मामिला तथा योजना मन्त्रालयले १८ दशमलव ५६, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सात दशमलव ९२ प्रतिशत बजेट खर्च गरेको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले तीन दशमलव ७०, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाँच दशमलव ९९, आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुई दशमलव ६१ प्रतिशत बजेट खर्च गरेका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले चार दशमलव ४० र सामाजिक विकास मन्त्रालयले ११ दशमलव ९५ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी तथा लेखा अधिकृत ललित थाले जानकारी दिए ।

चालु बजेट ११ प्रतिशत खर्च

कर्णाली प्रदेश सरकारले चालु तर्फ ११ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु तर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आठ दशमलव १८, आर्थिक मामिला तथा योजना मन्त्रालयले १६ दशमलव ५१, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ दशमलव ४० प्रतिशत बजेट खर्च गरेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १७ दशमलव ४३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सात दशमलव २७, आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुई दशमलव ७४ प्रतिशत बजेट खर्च गरेका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ दशमलव २१ र सामाजिक विकास मन्त्रालयले १४ दशमलव ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रेमप्रकाश चन्द

मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता र आमसञ्चार विषयमा स्नात्तकोत्तर अध्ययनरत चन्द ‘कर्णाली विजनेश डट कम’का लागि वीरेन्द्रनगर कार्यक्षेत्र रही प्रशिक्षार्थी पत्रकार हुन् ।
mrpchand@gmail.com

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours