वीरेन्द्रनगरमा व्यवसाय कर बढ्यो

वीरेन्द्रनगर–१० स्थित भट्टराई माछा तथा बंगुर फर्मले आर्थिक वर्ष २०८१/०८२ को लागि दुई हजार रुपैयाँ कर बुझाँयो । यसअघि २०८०/०८१ मा फर्मले नगरपालिकालाई वार्षिक एकमुष्ट एक हजार रुपैयाँ व्यवसाय कर भुक्तान गरेको थियो ।

फर्मका सञ्चालक देवप्रसाद भट्टराई भन्छन्, ‘वडा कार्यालयमा कर तिर्न गएको अचम्म परे । अघिल्लो वर्ष एक हजार रुपैयाँ बुझाएका थियौँ । अहिले दुई गुणा बढ्यो ।’

भट्टराई माछा तथा बंगुर फर्मले वार्षिक ३० लाख भन्दा कम आर्थिक कारोवार गर्छ । यस वापत आन्तरिक राजस्व कार्यालयमा समेत वार्षिक चार हजार रुपैयाँ बुझाउनुपर्छ । ‘कर कार्यालय, नगरपालिका अनि घरेलुमा पनि कर बुझाउनुपर्छ । कहाँ–कहाँ कर बुझाई सक्ने । साना व्यवसायका लागि धेरै नै भयो यो कर ।’

व्यवसाय कर मात्र होइन वीरेन्द्रनगर नगरपालिकाले जडिबुटी, कवाडी र जीवजन्तु कर, विज्ञापन कर, सेवा शुल्क, दस्तुर लगायतका क्षेत्रमा कर कायम गरेको छ । नगरपालिकाले संकलन गर्न पाउने राजस्वमा यस अघिका आर्थिक वर्षको तुलनामा करको दर बढेको छ । पालिकाले आर्थिक ऐन, २०८१ जारी गर्दै करको दर बढेको जनाएको छ ।

कति बढ्यो ?

मर्मत तथा सम्भार सेवा तर्फ चार पाङ्गे गाडी मर्मत गर्ने व्यवसायले अव वार्षिक पाँच हजार रुपैयाँ वीरेन्द्रनगर नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । यस अघि चार पाङ्गे गाडी मर्मत तर्फ एक हजार पाँच सय रुपैयाँ थियो । मोटरसाइकल मर्मतलाई एक हजार पाँच सय, टायर पंचर टाल्नेलाई एक हजार, सवारी साधन धुनेलाई आठ सय रुपैयाँ व्यवसाय कर कायम गरिएको छ ।

स्वास्थ्य सेवा तर्फ एक्सरे, ल्याव सुविधा सहितका अस्पतालले सात हजार रुपैयाँ कर बुझाउनुपर्छ । यस अघि उनीहरुका लागि तीन हजार रुपैयाँ व्यवसाय कर कायम गरिएको थियो । १८ बेडसम्मका अस्पताल तथा नसिङ होमलाई १० हजार र सो भन्दा माथि भए १२ हजार रुपैयाँ नगरपालिकालाई बुझाउनुपर्छ ।

शिक्षा सेवा तथा विभिन्न प्रशिक्षण केन्द्रका लागि मन्टेश्वरीलाई तीन हजार, कक्षा ८ सम्मका निजी विद्यालयलाई पाँच हजार, मावि तहकालाई १० हजार, प्राविधिक शिक्षालयलाई १० हजार, निजी स्तरका क्याम्पसलाई १५ हजार रुपैयाँ कर तोकिएको छ । प्राविधिक शिक्षालय वाहेकका शिक्षा सेवा तथा प्रशिक्षण केन्द्रहरु सबैकालागि कर बढाइएको छ ।

ट्युशन सेन्टर, कोचिङ सेन्टरहरुका लागि २० हजार रुपैयाँसम्म कर तोकिएको छ ।

चाट पसललाई पाँच हजार

वीरेन्द्रनगरमा सञ्चालनमा रहेका चाट पसलले अव वार्षिक रुपमा पाँच हजार रुपैयाँ नगरपालिकालाई बुझाउनुपर्ने छ । यसअघि उनीहरुका लागि वार्षिक पाँच हजार रुपैयाँ कर कायम गरिएको थियो ।

होटलहरुमा एकतारेलाई ३० हजार र पाँच तारेलाई ८० हजार रुपैयाँ कर छ । सामान्य खालको चिया नास्ता पसलले एक हजार पाँच सय भुक्रानी गर्नुपर्नेछ । यसअघि उनीहरुका लागि एक हजार रुपैयाँ राजस्व लिइन्थ्यो ।

मोवाइल भुड, जुस डेलिभरी भ्यानका लागि सात हजार, होम स्टेलाई पाँच हजार, रेष्टुरेन्ट/बारलाई चार हजार, डान्सबार तथा दोहोरी साँझलाई १५ हजार, सेमिनार हल सहित भएको होटललाई २५ हजार रुपैयाँ कर कायम भएको छ ।

उद्योगलाई १८ हजारसम्म कर

नगरपालिकाले साना उद्योगहरुलाई वार्षिक ६ हजार रुपैयाँ कर कायम गरेको छ । मझौला उद्योगलाई १२ हजार र ठूला उद्योगलाई १८ हजार रुपैयाँ कर तोकिएको छ ।

कृषि तथा पशुपंक्षी व्यवसायलाई ५ हजारसम्म

५० भन्दा बढी गाई वा भैंसी पालन गर्ने व्यवसायलाई नगरपालिकालाई पाँच हजार रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । २५ भन्दा कम संख्यामा गाई वा भैसीं पालन भएको छ भने उक्त व्यवसायलाई तीन हजार रुपैयाँ कर तोकिएको छ ।

बंगुर बाख्रा तर्फ पनि ५० भन्दा धेरै संख्यामा रहेका तीन हजार र २५ भन्दा न्युन संख्यामा रहेमा दुई हजार रुपैयाँ कर कायम भएको छ ।

यसअघि नगरपालिकाले संख्यात्मक मापदण्ड कायम गरेर पशु पालनमा करको रकम तोकेको थिएन ।

तरकारी तथा फलफुल उत्पादन फर्मलाई एक हजार रुपैयाँ कर तोकिएको छ । यस अघि यस प्रकारका व्यवसायलाई पाँच सय रुपैयाँ कर थियो ।

एक हजार भन्दा धेरै संख्यामा कुखुरा पाल्नेलाई दुई हजार पाँच सय, पाँच सय देखि एक हजार गोटसम्म कुखुरा पाल्नेलाई एक हजार पाँच सय रुपैयाँ, पाँच सय भन्दा कम पाल्नेका लागि एक हजार रुपैयाँ कर तोकिएको छ । यसअघि क्रमशः दुई हजार, एक हजार र आठ सय रुपैयाँ कर तोकिएको थियो ।

२५ प्रतिशत जरिवाना

नगरपालिकाले कर समयमा नै नबुझाएमा २५ प्रतिशत रकम जरिवाना लिने भएको छ । मालपोत, सम्पत्ति कर, व्यवसाय कर, सवारी कर र विज्ञापन कर समयमा नतिरेमा कर रकमको २५ प्रतिशत जरिवाना असुल्ने नगरपालिकाको आर्थिक ऐन, २०८१ मा उल्लेख छ ।

कोठा भाडाको न्यूनतम मूल्य कायम

नगरपालिकाले नगर क्षेत्रमा कोठा भाडाको न्यूनतम मूल्य कायम गरेको छ । क्षेत्रगत रुपमा नगरपालिकाले मासिक १५ हजार रुपैयाँ देखि दुई हजार पाँच सय रुपैयाँसम्म कोठा भाडाको मूल्य कायम गरेको हो । नगर क्षेत्रमा सबैभन्दा धेरै कोठा भाडा मूल्य कायम रहेको मंगलगढी चोकदेखि पश्चिम तर्फको क्षेत्र रहेको छ ।

वीरेन्द्रचोक देखि दक्षिण तर्फ मंगलगढी चोकसम्मको क्षेत्रमा प्रति कोठा मासिक १२ हजार रुपैयाँ न्यूनतम मूल्य कायम गरिएको छ ।

अन्य पालिकासँग सुहाउँदो छ – उपप्रमुख खनाल

व्यवसाय कर वृद्धिको विषयमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल कर वृद्धि स्वभाविक रहेको बताउछन् । उनले भने, ‘हाम्रो पालिकासँग मिल्दाजुल्दा अरु पालिकाको जस्तै नै छ । कोहलपुर, नारायण र दाङ्गका पालिकाहरुमा समेत यस्तै छ ।’

प्रेमप्रकाश चन्द

मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता र आमसञ्चार विषयमा स्नात्तकोत्तर अध्ययनरत चन्द ‘कर्णाली विजनेश डट कम’का लागि वीरेन्द्रनगर कार्यक्षेत्र रही प्रशिक्षार्थी पत्रकार हुन् ।
mrpchand@gmail.com

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours