जुम्ला लगायत यहाँ उत्पादित स्थानीय स्याउको बिक्रि बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनाको अवधिमा सुर्खेत स्थित कृषि बजारमा सात करोड रुपैयाँ बढीको स्याउ आयात भएको हो ।
गत साउन देखि कार्तिक ११ गतेसम्म कृषि बजारमा सात करोड ८७ लाख ९८ हजार रुपैयाँको स्थानीय स्याउ बिक्रि वितरण भएको तथ्यांक छ ।
सुर्खेत स्थित कृषि बजारमा चालु आर्थिक वर्षको तीन महिनामा आठ सय ४४ मेट्रिक टन स्वदेशी स्याउ बिक्री भएको हो । अघिल्लो आर्थिक वर्षभरि यो बजारमा नेपाली स्याउ जम्मा आठ सय ४२ मेट्रिक टनमात्र बिक्री भएको थियो ।
कृषि बजार, सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले दसैंको बेलामा नेपाली स्याउले राम्रो बजार पाएको बताए । दसैंमा खासगरी जुम्लाको स्याउको बिक्री निकै राम्रो रहेको र तिहारमा समेत यसले निरन्तरता पाइरहेको उनको भनाइ छ ।
अन्य देशबाट आयातित स्याउको तुलनामा जुम्ला, कालीकोट, दैलेख लगायतका जिल्लामा उत्पादित नेपाली स्याउको बिक्री निकै राम्रो रहेको उनले बताए । दसैंको समयमा देशभर बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि चीनबाट फुजी स्याउ आउन ढिलो भएकाले पनि नेपाली स्याउको बिक्री बढेको उनको भनाइ छ ।
भारत र चीनबाट भित्रिएको स्याउको मूल्यको तुलनामा नेपाली स्याउको मूल्य कम हुनुका साथै तुलनात्मक रूपमा ताजासमेत हुँदा नेपाली स्याउले राम्रो बजार लिन सफल भएको उनको धारणा छ ।
३ सय ५३ मेट्रिक टन निर्यात
कृषि बजार सुर्खेतमा गत आर्थिक वर्ष २०८०/०८१ मा कुल एक हजार चार सय ९२ मेट्रिक टन स्याउ आयात भएको थियो । जसमा सबैभन्दा धेरै जुम्लाको स्याउ नै हो । सो आर्थिक वर्षमा जुम्लाबाट कुल आठ सय ४२ दशमलव ७० मेट्रिक टन स्याउ आयात भएको देखिन्छ । चीन तथा भारतबाट भने ६ सय ४९ दशमलव ६० मेट्रिक टन स्याउ सुर्खेत स्थित कृषि बजारमा आयात भएको थियो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक ११ गतेसम्ममा यस कृषि बजारमा कुल आठ सय ९६ दशमलव ३० मेट्रिक टन स्याउ आयात भएको छ । जसमा जुम्लाबाट आठ सय ४४ दशमलव ३० र चीन तथा भारतबाट ५२ मेट्रिक टन स्याउ आयात भएको बजार व्यवस्थापक रास्कोटीले जानकारी दिए ।
त्यसैगरी बजारले चालु आर्थिक वर्षको हालसम्ममा तीन सय ५३ मेट्रिकटन शून्य एक मेट्रिक स्याउ निर्यात गरेको छ । कृषि बजारबाट निर्यात भएका स्याउहरु नेपालका अन्य कृषि बजार तथा भूभागमा निर्यात भएको व्यवस्थापक रास्कोटीले जनाए ।
+ There are no comments
Add yours